Ad Area

खुमबहादुर खड्का स्मृति भलिबलकाे उपाधि घाेराहीलाई, लमही ३-२ काे सेटमा पराजित


घोराही, २७ माघ । घोराहीमा जारी दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबलको उपाधि घोराही उपमहानगरपालिकाले जितेको छ । आज भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी लमही नगरपालिकालाई ३–२ को सेटमा हराउँदै उपाधि हात पारेको हो ।

पहिलो सेट पराजित भएको घोराहीले त्यसपछि पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो । घोराहीले २५–२७, २५–१६ १९–२५, २५–१२ र १५–९ को सेटमा जितेको हो भने लमही नगरपालिका उपविजेतामा सिमित भएको छ। लिग चरणको अन्तिम खेलमा पराजयको बदला फाईनलमा लिँदै उपाधि उचाल्ने लमहीको सपना पूरा हुन सकेन । घोराही १५ स्थित सहिद मन्चमा हजारौँ दर्शकको उपस्थितिमा भएको फाईनल खेलमा दर्शकले खेलको भरपूर मजा लिए । माघ २० गतेबाट शुरुभएको लिग कम नकआउट प्रतियोगितामा जिल्लाका दस वटै पालिकाको सहभागीता रहेको थियो । यस्तै तेस्रो स्थानका लागि भएको प्रतियोगितामा शान्तिनगर गाउँपालिका विजयी भएको छ । शान्तिनगरले ३–० को सोझो सेटमा जित्दै तेश्रो भयो ।

शान्तिनगरले २५–१८, २५–९ र २६–२४ को सेटमा हराएको हो । घोराहीको टीममा कप्तान शरद थापा मगर, विशाल बहादुर बिक, रविन चन्द, विज्ञान थापा, दिनेश थापा मगर, विरेन्द्र थापा मगर, छवि घर्ती मगर, रोहन परियार, विवश वली, दिलकुमार केसी र नरेन्द्र खड्का थिए। रविन र विशाल भलिबलको राष्ट्रिय टीममा प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् । लमहीको टीममा कप्तान गणेश बुढा, नवीन गाहा, विकास गिरी, तिलक गुरुङ, संजय पुन, दिपेन्द्र कुमाल, सुमित चौधरी, आशाराम चौधरी, खगेन्द्र बिक, विष्णु बस्नेत, ज्ञानेन्द्र बस्नेत र गुमानसिंह गिरी रहेका थिए। लमहीले भने स्थानीय खेलाडीलाई मात्रै सहभागी गराएर खेलमा उत्रिएको थियो ।

गत संस्करणको उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको थियो । हरेक पालिकाको टीममा दुई जना राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता खेली सकेका खेलाडी समावेश गर्न सकिने प्रावधान अनुसार यो पटक जिल्लाका ३ वटा पालिकाले स्थानीय खेलाडीहरुको क्षमता विकासका लागि ६ जना सहभागी गराएका थिए। जसअनुसार राप्ती गाउँपालिकाले नेपाली भलिबलको राष्ट्रिय टोलीको कप्तानसमेत रहनुभएका मानबहादुर श्रेष्ठ र अर्का खेलाडी धनबहादुर भट्टलाई समावेश गरेको थियो । शान्तिनगर गाउँपालिकाले पनि राष्ट्रिय भलिबल खेलाडीहरु रुपबहादुर गुरौँ, कमल गहतराजलाई सहभागी गराएको थियो ।

दोश्रो संस्करणको उपाधि जितेको घोराहीले नगद दुई लाख पच्चीस हजारसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। उपविजेता लमहीले एक लाख १२ हजार पाँच सय, तेश्रो हुने शान्तिनगरले ५६ हजार २ सय ५० र सान्त्वना हुने राजपुरले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाएको छ भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिएको छ । जसअनुसार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा घोराहीका रविन चन्द, उत्कृष्ट सर्बरमा लमहीका दिपेन्द्र कुमाल, लिब्रोमा शान्तिनगरका राजबहादुर खवास, उत्कृष्ट सेटरमा घोराहीका विज्ञान थापा, उत्कृष्ट स्पाइकरमा लमहीका गणेश बुढाथोकी, उत्कृष्ट ब्लकरमा घोराहीका विशाल बिक, उत्कृष्ट कोचमा घोराहीका ओकबहादुर बिकलाई पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा राष्ट्रिय रेफ्री द्रोण चन्द, प्रदेश रेफ्रीहरु भरत कवँर र धनमाया बोहरा रहनुभएको थियो। कुल १० जना खेल प्राविधिकले प्रतियोगितामा खेल खेलाउने काम गरिरहेका हुन् । नेपाल सरकारले राष्ट्रिय खेलका रुपमा घोषणा गरिसकेको भलिबल खेलको विकाससँगै युवाहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने लक्ष्यका साथ दाङ कांग्रेसले स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा आफ्नै लगानीमा खेलाडीको सबै खर्च व्यहोर्ने गरी प्रतियोगिता आयोजना गर्दै आएको छ । अब आगामी वर्षबाट भने १ करोडको अक्षयकोष स्थापना गरि संस्थागत रुपमा प्रतियोगिता आयोजना गर्ने दाङ कांग्रेसका सभापति शंकर डाँगीले जानकारी दिनुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad