Ad Area

संसदीय व्यवस्थाको विकल्प जनमत संग्रह अनि मात्रै वैज्ञानिक समाजवाद !


घोराही १३, कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ले राज्य सत्तासँगको सात दशक लामो संघर्ष अहिले पनि जारी रहेको बताएका छन् ।

इतिहासको विभिन्न काल खण्डमा राज्य सत्तासँगको विद्रोहमा उत्रिएका दलहरु सत्ता लोलुपतामा डुब्दा जनताले बारम्बार दुख पाएको बताए । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई शनिबार दाङको घोराहीमा सम्बोधन गर्दै महासचिव ‘बिप्लव’ले जनताको मुक्तिको नारा भजाएर बारम्बार धोका दिने शक्तिहरुका कारण अहिले देशमा राज्य नै नभएको आरोप लगाए ।

काम गर्ने म्यान्डेट दिएर जनताले सत्तामा पुर्याएकाहरुको अदुरदर्शी योजना, जनताको हीत विपरित काम गर्ने शैली र निहित स्वार्थका कारण दुई तिहाईको जनमत पाएकाहरु पनि ईतिहास बनेको तर्क गरे । उनले सरकारमा गएका दलहरु आफ्नो स्वार्थका कारण आफै मिल्न नसक्नेहरुले जनताको कुरा कसरी सुन्न सक्छन् भन्दै प्रश्न गरे । उहाँले साना साना कुरामा समाधान खोज्न नसक्नेले जनतामा केवल झुठा सपना बाँडेर अल्मल्याउने बाहेक केही नगरेको तर्क गरे ।

अहिले देशमा राज्य छ र ? दुई तिहाईको जनमत पाएकाहरु आफै मिल्दैनन् भने उनीहरुको के भर भयो । समाधान खोज्न नसक्नेले के सपना बाँडेका ? विदेशीहरुको इशाराम लम्पसार पर्ने सत्ताले के काम गर्छ र ? त्यही भएर यो देशमा राज्य नै छैन । नेपालका उद्योग व्यवसाय, युवाहरुको योजना, काम र रोजगारीको वातावरणलाई लत्याएर विदेशीहरुको आवाज सुन्ने, लम्पसार पर्ने सत्ताले जनताको आवाज कहिले पनि नसुनेकाले नेपालमा राज्य नै नभएको महसुस आफुले गरेको बताएका हुन् ।

देशभरबाट सम्मेलनमा सहभागी भएका आफ्ना नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महासचिव विप्लबले सत्ताको संकट जनताको संकट नभएको पनि बताए । अहिले देशमा देखा परेको राजनीतिक समस्या जनताको समस्या नभएको तर्क गरे । जनताले दिएको जनाधार अनुसार काम नगर्ने, अल्मल्याउने, आफ्नो स्वार्थ पूरा गर्नेहरुकै कारण अहिलेको परिस्थिती बनेको उनको आरोप छ । जसले भ्रमको खेती गर्याे, दलाली गरे उनीहरुका कारण नेपालमा अहिलेको व्यवस्था नै विफल हुने अवस्थामा आएको हुँदा नेपालमा वैज्ञानिक समाजवाद स्थापनाका पक्षधरहरु एक ठाउँमा उभिएर अब जनलहर निर्माणको यात्रामा अघि बढ्नु पर्ने बताए ।

Blog Post Ad

मानव तस्कर नेताहरुका कारण देशमा रोजगारी र अवसरबाट वञ्चित गराएर सवा करोड युवामध्ये ६० लाख युवा रोजगारीको सिलसिलामा विदेशिन बाध्य पारिएको उनको आरोप छ । अनाहकमा युवाशक्तिको उर्जावान समय खेर जान बाध्य बनाउने सत्ता शासकहरुका विरुद्ध अव युवा शक्तिनै जुर्मुराउन पर्ने अवस्था सिर्जना भएको उनको भनाई थियो । हिजो मानवमाथि दासताको व्यवहार गर्नेहरु नै अहिले नवतानाशाह बनेर जन्मिएकाहरु हरेक युवालाई विदेश पठाएर उनीहरुलाई बेचेर रगत पसिना चुसेर खान पल्किएका गद्दार रहेको आरोप लगाए । नेपाल देशको स्वाधीनताको झण्डा अब कस्ले उठाउने हो भनेर विदेशबाट लाखौँ युवाहरुले हेरिरहेको ध्यानाकर्षंण गराउँदै अब यो देशका युवाहरुले एक पटक फेरि सबैलाई विश्वास दिलाउनु सक्ने गरी नेपाल बनाउन प्रतिज्ञा गर्नुपर्ने बताए ।

देश बर्वाद भयो भनेर कोही कसैले भन्यो भन्दैमा सबै सकियो भन्ने होईन, अब यो परिवर्तन र देशको मुक्तिको जिम्मा उत्पीडित, पिछडिएका, अवसर र उज्यालो सम्भावना बोकेकालाई अघि सार्नुछ, उनले भने । अब एकीकृत वैज्ञानिक समाजवाद उन्मुख राज्य स्थापना गर्न जनमत नै अबको विकल्प रहेको उनको तर्क थियो । यदि जनमतमा जाने विषयमा सरकार सहमत भए आफुहरु निर्वाचनमा सहभागी हुने प्रष्ट पारे । ‘हामीलाई अन्य पार्टीहरुले चुनाव लड्न नचाहेको युद्ध गर्न खोजेको जस्ता आरोप पनि लगाउनुभएको छ’– उनले भने ‘हामी पूँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी ब्यवस्था भनेर जनमत संग्रह गरिए खुला रुपमा सहजै चुनाव लड्न तयार छौं ।’ संसदीय व्यवस्था र संसदको विकल्प अब जनमत संग्रह हो । अनि मात्रै वैज्ञानिक समाजवाद स्थापना सम्भव छ, उनले भने ।

यस्तै, सरकारसँग भएको ३ बुँदै सम्झौतामा विभिन्न बहानाबाजी भईरहेको भन्दै तत्काल असल कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण पनि महासचिव विप्लवले गराए ।सो सम्मेलनमा पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले राज्यसत्ता परिवर्तन गर्न सकिएन भने जतिसुकै ठूलो उपलब्धि गरे पनि खेर जाने गरेको जानकारी गराए । दश हजार यौद्धाको ज्यान गएर क्रान्ति गरिएको भए पनि राज्यसत्ता परिवर्तन गर्न नसक्दा उपलब्धि हासिल गर्न नसकेको उनले बताए । अब विप्लव वा आफू नै त्यही बाटोबाट सत्तामा पुगे कुनै परिवर्तनको संभावना नहुने उनले बताए ।

सचिवालय सदस्य सन्तोष बुढाले आधा क्रान्ति अझै बाँकी रहेको बताए । उनले एमसीसीजस्ता बैदेशिक हस्तक्षेविरुद्ध लड्ने नीति बनाउन पनि युवाहरुलाई आव्हान गरे । सरकारले सबै बन्दी रिहा गर्ने सहमति गरे पनि अझै सवा सय बन्दी रिहा हुन बाँकी रहेको पनि उनले बताए ।

युवा संगठनका अध्यक्ष पाटन जंगलीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका पूर्वअध्यक्ष उदयबहादुर चलाउने, नेकपा दाङ इञ्चार्ज बलबहादुर ओली, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, महिला संगठन उपाध्यक्ष धिरेन्द्रा उपाध्यायलगायतले सम्बोधन गरेका थिए । तीन दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनले देशभरका जनताको आवाजलाई केन्द्र बिन्दुमा पार्ने जनाएको छ । सम्मेलनमा भाग लिन देशभरबाट हजारौँ नेता, कार्यकर्ताहरु दाङमा आएका छन् । युवा संगठनले उद्घाटन समारोह गर्नुअघि घोराही बजार नारा जुलुससहित परिक्रमा गरेको थियो ।

Blog Post Ad Blog Post Ad