Ad Area

अपांगताका क्षेत्रमा काम गर्ने सबै संस्थाहरु स्वार्थरहित हुनुपर्छ


घोराही १४, कार्तिक । नेपाल अपांग महासंघ खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष धनजुजु श्रेष्ठले अपांगताका क्षेत्रमा काम गर्ने सबै संस्थाहरु स्वार्थरहित हुनुपर्ने बताएका छन् । अपांगताका क्षेत्रमा काम गर्ने संस्थाहरु यो वा त्यो बहानामा स्वार्थ केन्द्रित बन्दा त्यसको प्रत्यक्ष असर लक्षित वर्गलाई पर्ने बताए । नीहित स्वार्थ प्राप्तिका लागि संस्थालाई नै बन्दी बनाउँदा व्यक्ति विशेषलाई लाभ भएपति त्यसले पार्ने असरले सबैलाई नोक्सान पुर्याउने जिकिर गरे ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङको शनिबार आयोजित आठौँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले संस्थाको गरिमालाई जोगाउने काम शाखाका गतिविधिले गरिरहेको भन्दै यसमा दाङ शाखा सबैभन्दा अब्बल रहेको बताए । सिमित श्रोत साधनका बावजूद पनि संस्थालाई जीवन्त बनाउन विभिन्न सहयोगी, दाताहरुको विश्वास यसमा पर्न सक्नु ठूलो उपलब्धी रहेको बताए । संस्थाको नेतृत्वले अघि सारेका योजनामा सबैको सकारात्मक साथ भएको खण्डमा नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङ जस्तै छोटो समयमा नै चलायमान र प्रभावकारी बन्न सक्ने भन्दै संस्थाको कामप्रति प्रशंसा गरे ।

अपांगता भएकाहरुको दैनिकी सहज बनाउन अझै पनि थुप्रै काम गर्न बाँकी रहेकाले सरोकार निकायले पनि जिम्मेवार ढंगले सहयोगी बन्न अपिल गरे । अपांगता भएकाहरुलाई उनीहरुको आत्म सम्मानसँगै दैनिक सहज बनाउन विशेष गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेर काम गर्न पनि अपिल गरेका हुन् । ‘खाद्य र स्वास्थ्य, उठबस, बसाइँ, उनीहरुमा सकारात्मक हौसला र क्षमता अभिवृद्धिलगायतका कार्यक्रममा विशेष ध्यान दिनुपर्छ’ अध्यक्ष श्रेष्ठले धारणा राख्दै सुझाए । उनले संस्थाको संस्थागत विकासका आगमि कार्ययोजनाका बारेमा सपष्ट हुँदै गम्भीरताका साथ लाग्न अपिल गरे । संस्थागत विकाससँगै लक्षित वर्गको उत्थानका लागि एकजुट हुनु अहिलेको आवश्यकता रहेको उनको धारणा थियो ।

यसैगरी जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले समाजको सबैभन्दा चेतनशील प्राणीका रुपमा रहेको मानिसले जीवित हुँदासम्म गर्ने कामको आधारमा मुल्यांकन हुने हुँदा असल काम गरेर नाम कमाउने बाटोमा सबै लाग्नुपर्ने बताए । अपांगता भएकाहरुको चेतना र सक्षम मानिसको श्रमलाई जोडेर अघि बढ्न सकेको खण्डमा यो समाजले निकै फड्को मार्ने उनको विश्वास थियो ।

Blog Post Ad

यद्यपि, लामो राजनीतिक संघर्षबाट देशमा व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्था परिवर्तन हुन नसकेकोमा दुख व्यक्त गरे । यसका लागि अब सचेत नागरिकले कुनै पनि स्थानमा नेतृत्वका लागि जानेको बेलैमा पहिचान गरेर पठाउनु पर्ने बताए । ‘लामो संघर्षबाट देशमा व्यवस्था परिवर्तन भयो तर जनताको अवस्थामा परिवर्तन आउन सकेन, यो निकै दुखद छ,’ उनले भने, ‘अब जनतालाई माथि राखेर काम गर्नेलाई नागरिकले चिन्नुपर्ने बेला आएको छ।’

अपांग महासंघका कोषाध्यक्ष नाम्गेल शेर्पाले केन्द्रले गर्ने प्रयास अझै बढाउन आफुले महसुस गरेको बताए । अपांगताका क्षेत्रमा दाङ शाखाले थालेको प्रयास अनुकरणीय रहेको भन्दै यो अब सबैको प्रेरणा र मार्ग दर्शनको केन्द्र बनेको बताए । साधारणसभामा घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले जनप्रतिनिधिले काम गर्दा अपनत्व लिनुपर्ने ठाउँमा आफु गम्भीर रहेको बताए । राज्यका सबै नागरिक समान भएकाले उनीहरुको अस्तित्व र सम्मानका लागि सबै गम्भीर बन्नुपर्ने बताए ।

यसैगरी, संस्थापक पूर्व अध्यक्ष भोलानाथ योगीले सहयोग नै धर्म स्वभाव भएको हुँदा मानव सेवामा सबैले सहभागीता जनाउनु पर्ने बताए । दुखमा दुख, सुखमा सुख साट्न सक्नु नै मानव जीवनको आधार रहेको उनको भनाई थियो । मानिसमा सेवाभावको सोँच विकास आवश्यक रहेकाले दान गर्न पाउनु मोक्षको बाटो भएको स्पष्ट पारे । पिछडिएका, सहयोगापेक्षीलाई सबैको हौसला चाहिने हुँदा यसतर्फ सरोकार संस्थाहरुले हौसलाको वातावरण मिलाउनुपर्नेमा जोड दिए ।

साधारण सभामा दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी, संस्थाकी सल्लाहकार सुष्मा गिरी, जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । साधारण सभामा सचिव भुमा चौधरीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष वसन्त भट्टको आर्थिक प्रतिवेदन प्रस्तुत भएकोमा पारित गरिएको छ ।

सो अवसरमा संस्थालाई सहयोग गरेका तथा अक्षयकोष स्थापना गरेका ४० जना विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो । ती व्यक्ति वा संस्थाले अक्षयकोष तथा आर्थिक र खाद्यान्न सहयोग गरेका थिए । यसैगरी संस्थाको काममा जिम्मेवार ढंगले काम गर्ने कर्मचारी बिक्रम तामाङ र कमला केसीलाई पनि सम्मान गरिएको थियो ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा दाङका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा भएको साधारणसभाको स्वागत मन्तब्य निवर्तमान अध्यक्ष श्रीमन न्यौपानेले गरेका थिए भने सहभागीहरुलाई धन्यवाद ज्ञापन उपाध्यक्ष रुपा वलीले गर्दा कार्यक्रमको सहजीकरण उपसचिव निशान्त आचार्यले गरेका थिए ।

Blog Post Ad Blog Post Ad