Ad Area

परिवार नियोजन संघको प्रसुति भवन जापानी राजदूत किकुताबाट उदघाटन


घोराही, २८ माघ । नेपाल परिवार नियोजन संघ दाङ शाखामा नवनिर्मित सुविधासहितको प्रसुति भवन उद्घाटन गरिएको छ । उक्त भवनको नेपालका लागि जापानका राजदूत किकुता युतका तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले शुक्रबार एक समारोह बीच संयुक्त रुपमा उदघाटन गर्नुभएको हो ।

नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुको अध्यक्षता तथा नेपालका लागि जापानका राजदूत किकुता युतका तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्य एवम् नेपालका लागि जापानका राजदूत किकुता युतकाले संघको परिसरमा नवनिर्मित प्रसुति भवनको उदघाटन गर्नुभयो । जापानी दुतावाससँग भएको सम्झौता अनुसार सन् २०१९ सेप्टेम्बर २७ तारिखमा सम्झौता भई ३१ अगस्ट २०२१ मा सम्पन्न गर्नुपर्ने भएपनि विश्वभर फैलिएको कोभिड १९ का कारण म्याद थप भई २०२२ को मार्चमा सम्पन्न भएकोमा सो भवनको उदघाटन गरिएको हो ।

जापान सरकारको १ करोडको लगानी भए अनुसार ८० लाखको लागतमा बनेको प्रसुति भवनको उदघाटन गर्दै मन्त्री आचार्यले सो अवसरमा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले नेपाल र जापानबीचको दौत्य सम्बन्धको इतिहास निकै सुखद रहेको बताउँदै यसले नेपाल र नेपाली जनताका लागि उल्लेखनीय प्रगति हासिल गर्न सहयोग पुगेको बताउनुभयो ।

नेपालको विभिन्न पूर्वाधार विकासदेखि सामाजिक क्षेत्रमा गर्दै आएको सहयोगका कारण नेपालमा थुप्रै आयाम सम्भव भएको उहाँको भनाई थियो । अहिले पनि लुम्बिनी प्रदेशको दाङमा यहाँका नागरिकको स्वास्थ्यलाई ख्याल गरेर सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पूर्वाधार विकासमा गरेको निस्वार्थ लगानी तथा सहयोगलाई प्रदेश सरकारले उच्च मुल्यांकन गरेको बताउनुभएको छ ।

जापान सरकारले यहाँका जनताको स्वास्थ्य सुधारका लागि गरेको काम प्रति यहाँका जनता र लुम्बिनी प्रदेश सरकारको तर्फबाट उहाँले जापानी राजदूत किकुता युतकामार्फत धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी, महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा काम गर्न र परिवार नियोजन संघ दाङ शाखाको दिगो विकासमा लागि गत वर्ष प्रदेश सरकारले २० लाख सहयोग गरेको बताउनुभयो । सामाजिक उत्तरदायित्व पूरा गर्दै सरकारको स्वास्थ्य क्षेत्रको लक्ष्य पूरा गर्न संस्थाले खेलेको भूमिकालाई समुदायमा अझ प्रभावकारी बनाउन तथा आगामि दिनमा यहाँका जनताको स्वास्थ्य सेवाका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग सहकार्य रहने प्रतिवद्धता जनाउनुभयो ।

Blog Post Ad

कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युतकाले दाङ जिल्लामा सन् २०१९ को सेप्टेम्बरमा सुरु गरिएको प्रसुति भवन निर्माण परियोजनाको काम सन् २०२२ को मार्च महिनामा सफलतापूर्वक सम्पन्न भएकोमा जापान सरकार र त्यहाँको जनताको तर्फबाट धन्यवाद दिँदै यसको उच्चतम प्रयोग गर्न अपिल गर्नुभयो । यसअघि कुनै पनि जापानी राजदूतले घोराहीको भ्रमण नगरेको स्मरण गराउँदै उहाँले जापानी राजदूतको रूपमा पहिलो पटक दाङ उपत्यकाको भ्रमण गरेको र यो आफ्ना लागि स्मरणीय रहने बताउनुभयो । प्रसुति भवन हस्तान्तरण समारोह मनाउन पाउँदा निकै खुसी भएको बताउँदै राजदूत युतकाले दाङमा प्रसुति भवन सञ्चालन गर्ने, नेपाल परिवार नियोजन संघ, लुम्बिनी प्रदेश सरकार र घोराहीका धेरै व्यक्तिहरूको अथक प्रयासले आज यो खुशियाली मनाउन सम्भव भएको जिकिर गर्नुभयो ।

‘दाङ जिल्लामा सन् २०१९ को सेप्टेम्बरमा सुरु गरिएको ग्रान्ट असिस्टेन्स फर ग्रासरुट हुमन सेक्युरिटी प्रोजेक्ट, जिजिपी अनुदान सहयोग अन्तर्गत सन् २०२२ को मार्च महिनामा यस प्रसुति भवन निर्माणको परियोजना सफलतापूर्वक सम्पन्न भएकोमा म जापान सरकार र जनताको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु’ उहाँले भन्नुभयो, ‘नेपालमा कोरोनाको नयाँ संक्रमण लगायतको अवस्थालाई ध्यानमा राख्दे आज बल्ल काठमाडौंबाट हवाई तथा स्थल मार्गबाट यात्रा गर्दै यहां आइपुग्योँ जहाँसम्म लाग्छ, यसअघि कुनै पनि जापानी राजदूतले घोराहीको भ्रमण गरेका थिएनन्, त्यसैले जापानी राजदूतको रूपमा पहिलो पटक यो उपत्यकाको भ्रमण गरेको दिन मेरो लागी पनी स्मरणीय रहनेछ । आज तपाईंहरू सँग दाङ जिल्लाको प्रसुति भवन हस्तान्तरण समारोह मनाउन पाउँदा म निकै खुसी भएको छु ।’

विगतमा जस्तै आगामी पुस्ताले राम्रो र सुखी जीवन बिताओस भन्ने चाहना राख्ने अभिभावकको माया आज पनि त्यत्तिकै रहेको बताउँदै उहाँले त्यो चाहना पूरा गर्नको लागि नेपाल परिवार नियोजन संघले बच्चाहरूको सुरक्षित जन्म र हुर्काइ सुनिश्चित गर्न तथा आमाहरूको स्वास्थ्यको सुरक्षा गर्न जिल्लामा यो प्रसुति भवन सञ्चालन उल्लेख गर्नुभयो ।

यसले भविष्यका कर्णधार, बालबालिका तथा तिनलाई जन्म दिने आमाहरूको सुविधाको लागि मात्र नभई, स्थानीय समुदायको विकासका लागि समेत योगदान उहाँको विश्वास छ । ‘विगतमा जस्तै आगामी पुस्ताले राम्रो र सुखी जीवन बिताओस भन्ने चाहना राख्ने अभिभावकको माया आज पनि त्यत्तिकै छ । त्यो चाहना पूरा गर्नको लागि परिवार नियोजन संघले बच्चाहरूको सुरक्षित जन्म र हुर्काइ सुनिश्चित गर्न तथा आमाहरूको स्वास्थ्यको सुरक्षा गर्न दाङ जिल्लामा यो प्रसुति भवन सञ्चालन भएको छ’ उहाँले भन्नुभयो ‘यो गतिविधिले भविष्यका कर्णधार, बालबालिका तथा तिन्लाइ जन्म दिने आमाहरूको सुविधाको लागि मात्र नभई, स्थानीय समुदायको विकासका लागि समेत योगदान पुग्नेछ ।’

यहाँका नागरिकको स्वास्थ्यमा सुधार ल्याउन जापानी दूतावासले गर्भवती महिलाहरूको सुरक्षित प्रसुति सेवा र नवजात शिशुको सुस्वास्थ्यका लागि आवश्यक चिकित्सा उपकरणको व्यवस्था लगायत उक्त परियोजना मार्फत दाङको प्रसुति भवन निर्माण गर्न सहयोग गरेको अवगत गराउनुभयो । यो सहयोगले यस क्षेत्रका आमा र शिशुहरू लगायत स्थानीय समुदायलाई पनि योगदान पुयाउने उहाँको धारणा थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रचण्डविक्रम न्यौपानेले देश बनाउन सबैले जापान सरकारबाट सिक्न जरुरी रहेको बताउनुभयो । निस्वार्थ भावनाका साथ जापना सरकारले नेपाल र नेपाली जनताको हीतका लागि गर्दै आएको कामले धेरै उपलब्धी हासिल भएपनि अझ आफै देश बनाउने अभियानमा लाग्ने बेला आएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्मा, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, नेपाल परिवार नियोजन संघका महानिर्देशक डा. नरेश प्रताप केसीलगायतले बोल्नुभएको थियो ।

जापान सरकारले गरेको १ करोड रुपैयाँ बराबरको आर्थिक सहयोगबाट ८० लाख बराबरको सहज स्वास्थ्य सेवा उपलब्ध गराउन ८ कोठाको भौतिक पूर्वाधार निर्माण र २० लाख बराबरको सेवा बिस्तार र गुणस्तरीय सेवाका लागि आवश्यक पर्ने क्लिनिकल औजारहरु व्यवस्थापन गरिएको छ ।

उक्त रकमबाट पाठेघरको मुखको क्यान्सर भएका बिरामीहरुका लागि क्रायो मेसिन, अल्ट्रासाउन्ड मेसिन, प्रसुति बेड, प्रयोगशाला सेवा बिस्तारका लागि सेमि अटोएनालाईजर, माईक्रोस्कोप, सेन्ट्रिफ्युजलगायत स्वास्थ्य सामग्री खरिद गरियो र सेवा बिस्तार भएको छ । पूर्वाधार थपिएपछि सहज सेवा प्रदान गर्न सम्भव भएको र सेवाग्राहीले छिटो छरितो रुपमा सेवा पाउन सफल भएका छन् ।

पूर्वाधारको विकासले गर्भवती महिला र बच्चाहरुलाई खोप सेवा तथा अन्य महिलालाई प्रजनन् स्वास्थ्य सेवा दिन निकै सहज भएको छ । यसले खासगरी समाजका लक्षित समुदायका महिलाहरु जस्तो, गरिव, विपन्न , सिमान्तकृत, पिछडिएका वर्गलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन टेवा पुगेको संघले जनाएको छ । शाखा सभापति तीर्थराज सन्तोषीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव माया पोख्रेलले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad